Feb 26, 2021

Skill Mapping Report prepared and submitted

सीप नक्सांकन प्रतिवेदन हस्तान्तरण

 

देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट आधारभूत तथा मध्यस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीपको पहिचान गरी स्तरीकरण गर्ने लगायतका कामहरु हुदै आएका छन् । यसका अतिरिक्त संघीय तहमा रहेका विभिन्न १२ बटा मन्त्रालय अन्तरगत रहेका १८ बटा निकायहरुबाट तालिम प्रदान गरिदै आएको पाईन्छ भने प्रदेश सरकार र स्थानीय सरकारले समेत सीप विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन्। एकातर्फ यस सम्बन्धमा एकिकृत तथ्थांकको अभावका सञ्चालित कार्यक्रमहरुको गुणस्तरियता, सान्दर्भिकता र प्रभावकारिताका वारे एकिन भन्न नसक्ने अवस्था छ भने अर्का तर्फ यस क्षेत्रमा भएको लगानीबाट राष्ट्रले अपेक्षित उपलब्धि हासील गर्न नसकेको यथार्थ हामी सामु छर्लङ्ग छ ।

तसर्थ देशमा उपलब्ध सीपहरुको क्षेत्र, विषय र तहका सम्बन्धमा अध्ययन गरी यसको अवस्थाका झल्किने गरी सीप नक्सांकनको प्रतिवेदन तयार गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यटोलीले आफ्नो प्रतिवेदन परिषद्का उपाध्यक्ष श्री खगेन्द्रप्रसाद अधिकारीलाई हस्तान्तर गर्यो । प्रतिवेदनमा तालिम प्रदायक संस्थाहरुले प्रदान गरेका तालिमका विषय र संख्याका साथै नेपाल श्रम शक्ति सर्वेक्षणको सुक्ष्म अध्ययन गरी श्रम बजारमा कार्यरत प्राविधिक जनशक्तिको अवस्थालाई नक्सांकन गरी पेश गरिएको छ । यस प्रतिवेदनले आगामी दिनका देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा नीति निर्माता, अनुसन्धानकर्ता र यस क्षेत्रमा कार्यरत पदाधिकारीहरुलाई आवश्यकताको आधारमा सीपयुक्त दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यमा सहज हुने अपेक्षा गरिएको छ ।

Click here to download the report