Mar 24, 2025

स्विट्जरल्याण्ड, नेपाल र सर्बिया बीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका सम्वन्धमा भर्चुअल संवाद सम्पन्न

चेत्र १०, २०८१। नेपाल उद्योग परिसंघको आयोजना, विकास सहयोगका लागि स्विस एजेन्सी (SDC) को सहजीकरण र Swisscontact को प्राविधिक सहयोगमा स्विजरल्यान्ड, नेपाल र सर्बियामा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीममा (Technical and Vocational Education and Training) उद्योगको भूमिका सम्बन्धी भर्चुअल संवाद सम्पन्न भएको छ। उद्घाटन मन्तव्यको क्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले उद्योगहरूको आवश्यकता पहिचान गरी पाठ्यक्रम विकास गर्न र प्रशिक्षण तथा तालिमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो।

स्वीसकन्ट्याक्ट, जुरिच, स्वीजरल्यान्डकी सोन्जा होफ्स्टेटरले कार्यक्रमको खाका प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा उद्योग व्यवसायबाट २० जना, निजी क्षेत्रबाट २७ जना, सरकारी निकायबाट ६ जना,  तालिम प्रदायक संस्थाबाट ७ जना र अन्यबाट १८ जनाको सहभागिता थियो । तिन जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पहिलो प्रस्तुती स्वीस व्यावसायिक शिक्षा र तालीम प्रणालीका बारेमा सामुयल डेररले प्रस्तुत गर्नु भएको थियो । नेपालको TVET प्रणाली र निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी दोस्रो प्रस्तुती विकास सहयोगका लागि स्विस एजेन्सी (SDC), नेपालको तर्फबाट पंकज पराजुलीले गर्नु भएको थियो। त्यसैगरी सर्वियामा संचालित व्यावसायिक शिक्षा र तालीमका बारेमा राष्ट्रिय कार्यक्रम अधिकृत इभाना मिहालोभिकले प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यक्रमको समापन सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) का सदस्य सचिव ई. महेश भट्टराईले TVET पाठ्यक्रमको विकास, गुणस्तर सुनिश्चितता र TVET को व्यवस्थापनमा जोड दिंदै तालीम प्रदायक, उद्योग र प्रशिक्षार्थी गरी तीन फरक पक्षहरूसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भएको थियो।